एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भयोः महासचिव पोखरेल

२०७८ पौष १७ शनिबार १८:१७:०० मा प्रकाशित

राँझा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फी घेराबन्दी भएको गुनासो गरेका छन् । नेकपा एमाले बाँकेले शनिबार बाँकेको नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे ।

“जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे । कार्यक्रममा रामकुमार दीक्षितको नेतृत्वमा पार्टीमा आएका नेता तथा कार्यकर्तालाई उनले स्वागत गरे ।

ताजा खबर