भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बृद्धि, तेस्रो लहरको त्रास बढ्यो

२०७८ पौष १७ शनिबार १२:०३:०० मा प्रकाशित

भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ । शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२ हजार ७७५ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो । त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ । यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६ हजार ७६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २२० जनाको मृत्यु भएको जनाएको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ । गत अप्रिल र मे महिनामा भारतमा कहालीलाग्दो दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक सरदर चार लाख मानिसमा कोभिड पुष्टि भएको थियो । त्यसयता सङ्क्रमितको सङ्ख्या उल्लेख्य घटेको थियो।

कैयौँ महिना दैनिक १० हजारभन्दा कम सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए । तर अधिकारी र विज्ञहरूले निकै सङ्क्रामक ओमिक्रोन भेरियन्टले तेस्रो लहर सिर्जना गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।

भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या एक हजार ४ सय नाघेको छ । मुम्बई रहेको महाराष्ट्र राज्यमा अहिलेसम्म सबैभन्दा धेरै ४५४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। दिल्लीमा ३५१, तामिलनाडुमा ११८, गुजरातमा ११५ र केरलामा १०९ जनामा पनि ओमिक्रोन देखिएको छ ।

नेपालसँग सीमा जोडिएकामध्ये तीन राज्यमा – पश्चिम बङ्गाल (१७), उत्तर प्रदेश (८) र उत्तराखण्ड (४) – पनि ओमिक्रोनबाट सङ्क्रमण थपिएका छन् । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अहिले भारतमा दैनिक सङ्क्रमण पुष्टि दर २.०५ प्रतिशत पुगेको छ। साप्ताहिक पुष्टि दर १.१० प्रतिशत छ ।

ताजा खबर