सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ : प्रधानमन्त्री

२०७८ पौष १६ शुक्रबार २०:२३:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो राजनीतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहनाअनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्रहालय समिति सुन्दरीजलमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हिजो बीपीले खोजेको राष्ट्रिय सहमति र मेलमिलाप नीति आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनाका नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गरे ।

आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको भन्दै उनले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जाँगरका साथ काम गर्न अग्रसर रहेको बताए । सभापतिका हैसियतमा सङ्ग्रहालयको प्रमुख संरक्षकसमेत रहेका उनले सङ्ग्रहालयमा रहेको बीपीको प्रतिमामा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष परशुराम पोखरेलले बीपी सङ्ग्रहालय स्थापनाका मूल मर्म आत्मसात गरेर कांग्रेसका नेता कार्यकता मात्र नभई सबैले मुलुक र जनताप्रतिको आफ्नो जिम्मेवारी तथा दायित्व बहन गर्नुपर्ने बताए ।

उनले मुलुक र जनताको हितका लागि बीपीले सामना गर्नुपरेका सङ्घर्ष र चनौतीका बारेमा सबैलाई अवगत गराउन नै जेललाई सङ्ग्रहालयमा रुपान्तरण गर्नुपरेको धारणा व्यक्त गरे ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला विसं २०३३ पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । कांगे्रसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

ताजा खबर