पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै बलिदान गर्न तयार छुः प्रचण्ड

२०७८ पौष १६ शुक्रबार १६:२८:०० मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । पार्टीको आठौं महाधिवेशनको जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

उनले सबैको सुझाव समेटेपनि प्रतिवेदन आमूल परिवर्तन भने नहुने बताए । उनले भने,‘ सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन ।’

अध्यक्ष प्रचण्डले यो पार्टीलाई क्रान्तिकारी बनाउन जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न आफू तयार रहेको बताए । उनले सानो समूहबाट २०५२ सालमा जनयुद्ध शुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो भन्दै प्रश्न गरे ।

माओवादीले अहिलेसम्म छलाङ हान्दै आएको भन्दै उनले आवश्यक पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन तयार रहेको बताए । आफ्नो पार्टीको महाधिवेशनले सिंगो देशकै ध्यान आकर्षित गरेको भन्दै अध्यक्ष प्रचण्डले त्यो उद्घाटनसत्रमै पुष्टि भएको बताए । उनले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताए ।

अध्यक्ष प्रचण्डले जरुरी पर्दा आफू गाउँघरमा जान र उनीहरुसँगै बस्न कुनै गाह्रो नभएको बताए । अध्यक्ष प्रचण्डले बन्दसत्रको पहिलो दिन ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।

 

 

ताजा खबर