आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

२०७८ पौष १६ शुक्रबार १५:५५:०० मा प्रकाशित

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरु भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए ।

दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई छलाउँदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो तर आर्मीको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६७ औँ मिनेटमा एपिएफका बिकी तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

उनले कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्ड बलमा गोल गरेका हुन् । यो बराबरी खेलसँगै आर्मीले सात खेलमा ११ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकाको चौँथो स्थानमा छ । समान खेल खेलको एपीएफले ६ अङ्क जोड्दै अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।

ताजा खबर