एमाले चितवनको अध्यक्षका लागि चार आकांक्षी

२०७८ पौष १६ शुक्रबार १३:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले चितवनको १० औँ जिल्ला अधिवेशनमा चार जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् । पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ । जिल्ला अध्यक्षका लागि नेता रामप्रसाद न्यौपाने, तेजेन्द्रबहादुर खड्का, कृष्ण भुर्तेल र कमल पाठकले इच्छा देखाएका छन् ।

अध्यक्षका आकांक्षी न्यौपाने यसअघि पार्टीको भरतपुर महानगर कमिटीको अध्यक्ष थिए । खड्का यसअघिको नवौँ महाधिवेशनमा जिल्लाको उपाध्यक्षमा निर्वाचित भएका थिए । भुर्तेल हाल बागमती प्रदेशको प्रदेशसभा सदस्य हुन् । नवौँ अधिवेशनमा पाठक जिल्ला सदस्यमा निर्वाचित भएका थिए । जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलले सहमतिका आधारमा नेतृत्व चयनका लागि केन्द्रीय नेताको उपस्थितिमा छलफल गरिने जानकारी दिइन् ।

उनले भनिन्, “सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा प्रयास हुनेछ ।” सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वको टुङ्गो लाग्ने उनको भनाइ छ । जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्ने छ । जिल्लामा छनोट भएका एक हजार ४०० प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने नेता रावलले जानकारी दिइन् ।

जिल्ला अधिवेशनका प्रतिनिधि पुस १७ गते सबै तहबाट छानिएर आउँदै छन् । यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँण, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्ण खनाल, जेएन थपलिया, कृष्णभक्त पोखरेलले नेतृत्व गरिसकेका छन् । एमाले अलग भएसँगै पार्टी नेतृत्वले चितवनका अध्यक्षमा रावललाई जिम्मेवारी दिएको थियो ।

ताजा खबर