एमालेको बागमती प्रदेश अधिवेशन माघ ८ र ९ गते काठमाडौँमा हुने

२०७८ पौष १५ बिहीबार १३:२२:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ । कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ ।

बैठकले राजनीतिक/साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयंमसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले जानकारी दिए । बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको उपस्थितिमा थियो । एमालेले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ ।

ताजा खबर