क्रिस्टियानो रोनाल्डोको सालिकले भारतमा विवाद

२०७८ पौष १५ बिहीबार ११:१०:०० मा प्रकाशित

पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नयाँ सालिकका कारण भारतमा विवाद भएको छ । फुटबल लोकप्रिय रहेको भारतको पश्चिमी गोवा राज्यमा सालिक राखिएको थियो । त्यहाँका अधिकारीहरूले सालिक स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्ने आशा गरेका छन् ।

तर कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो । भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो । भारतको राष्ट्रिय फुटबल समूहमा पूर्व तथा वर्तमान खेलाडीहरू गोवाकै हुन्। त्यसैले आलोचकहरूले स्थानीय खेलाडीहरूको सम्मान गरिनु पर्ने बताउँदै आएका छन् ।

तर टाइम्स अफ इन्डियाका अनुसार प्रतिमा अनावरणको क्रममा केही मानिसले कालो झन्डा फहराउँदै विरोध जनाएका थिए । पोर्चुगलको फुटबल टोली गोवामा लोकप्रिय छ र यसको औपनिवेशिक विगतका कारण धेरै स्थानीयका नातेदारहरू पोर्चुगलमा छन् । तर भारतका केही मानिसहरूले गोवा पोर्चुगलबाट स्वतन्त्र भएको ६० औँ वार्षिकोत्सवमै रोनाल्डोको मूर्ति स्थापना गर्नु अपमानजनक भएको महसुस गरेका छन् ।

उनीहरुले गोवामा रहेका थुप्रै स्वतन्त्रता लडाकुहरूको समेत अपमान भएको बताएका छन् । सत्तारुढ भारतीय जनता पार्टी भाजपाका स्थानीय सांसद माइकल लोबोले मूर्तिसहित तस्बिर ट्वीट गर्दै भनेका छन्, ‘हाम्रै युवाहरूको अनुरोधमा यो राखिएको हो। यो उनीहरूको फुटबल यात्रालाई अझ उचाइमा पुर्याउन प्रेरित गर्न स्थापना गरिएको हो।’

भारतमा क्रिकेट लोकप्रिय भए पनि केरला, गोवा, पश्चिम बङ्गाल र उत्तर–पूर्वी राज्यहरूमा फुटबल पनि लोकप्रिय छ । हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने रोनाल्डोका धेरै भारतीय प्रशंसक छन्। र फुटबलमा उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक मानिन्छन् । सन् २०१७ मा पनि पोर्चुगलस्थित मडेइरा एयरपोर्टमा राखिएको उनको अर्धकदको मूर्ति सामाजिक सञ्जालमा हाँसोको विषय बनेको थियो। उक्त प्रतिमामाथि व्यङ्ग्य गर्दै धेरै मिम बनेका थिए। चर्को आलोचना पछि त्यसलाई प्रतिस्थापन गरिएको थियो।

ताजा खबर