भारतमा कोभिडका दुई नयाँ खोपलाई अनुमति

२०७८ पौष १४ बुधबार ११:३२:०० मा प्रकाशित

ओमिक्रोन भेरियन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबीच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ । सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो ।

यीसहित भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन् । अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ । भारतीय सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ, तर त्यो लक्ष्य प्राप्ति सम्भव देखिएको छैन ।

अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिएकाहरू एवं ६० वर्षभन्दा माथिका जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका व्यक्तिहरूलाई जनवरी १० देखि सावधानी मात्रा भन्दै बुस्टर मात्रा खोप दिइने बताएका छन् ।

मोदीले जनवरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने बताएका छन् । अहिले भारतमा दैनिक पुष्टि भइरहेका सङ्क्रमण सङ्ख्या ६ हजारको हाराहारीमा छन्, तर ओमिक्रोन सङ्क्रमण केही राज्यहरूमा बढिरहेका छन् । अहिले त्यहाँ नयाँ भेरियन्टका ६५३ सङ्क्रमण पुष्टि भएका छन् ।

नयाँ अनुमति दिइएका खोपहरू बुस्टर मात्राका रूपमा लगाइन्छ कि पुरानै खोप लगाइन्छ भन्ने स्पष्ट छैन । कोर्बेभ्याक्स अमेरिकी कम्पनी डाइनाभ्याक्स र बेलर कलेज अफ मेडीसीनसँग मिलेर विकास गरिएको हो । स्वास्थ्यमन्त्री मनसुख मन्दाभीयले कोरोनाभाइरसको स्पाइक प्रोटिनबाट निर्मित भारतीय खोप भएको बताएका छन् ।

कोभोभ्याक्स चाहिँ नोभाभ्याक्सको स्थानीय नाम हो। यो कोभिशील्डको नाममा आस्ट्राजेनेका खोप बनाइरहेको सीरमले उत्पादन गर्छ । कम्पनीका अनुसार यो खोप अमेरिकाको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ ।

भारतले अहिलेसम्म अन्य छ खोपलाई अनुमति दिए पनि तीन प्रकारका खोप मात्रै प्रयोग गरिरहेको छ । कोभिशील्ड, भारत बायोटेकको कोभ्याक्सिन र रुसी स्पुत्निक भी खोप प्रयोग गरे पनि ९० प्रतिशतभन्दा बढी खोप कोभिशील्ड प्रयोग गरेको तथ्याङ्क छ ।

 

ताजा खबर