युरोपभरि हालसम्मकै उच्च सङ्क्रमण

२०७८ पौष १४ बुधबार ११:२७:०० मा प्रकाशित

फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ । मङ्गलबार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् ।

चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । सोमबार फ्रान्सका स्वास्थ्यमन्त्रीले जनवरी सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए ।

फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन् । यसै हप्ताको सुरुमा फ्रान्सले केही प्रतिबन्धहरू घोषणा गरेको थियो जसमा जनवरीको प्रारम्भबाट अनिवार्य रूपमा कम्तीमा तीन घरबाटै काम गर्नुपर्ने भनिएको छ । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो ।

त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ । महामारीलाई ध्यान दिँदै प्यारिस, लन्डन र बर्लिनसहित कैयौँ शहरले नयाँ वर्षको कार्यक्रम रद्द गरेका छन् ।

फ्रान्स र इङ्ग्ल्यान्डका मानिसहरूलाई आफ्नो सामान्य विवेक प्रयोग गर्न भनिएको छ भने स्पेनको राजधानी मड्रिडले सहभागीहरूको सङ्ख्यालाई सीमित तुल्याउँदै नयाँ वर्षका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । इटलीले बाहिरका कार्यक्रम र रात्रि क्लबहरू बन्द गराएको छ तर निजी भेलाहरूमा रोक लगाएको छ ।

ताजा खबर