अनलाइनमार्फत ठगी गर्ने युवक पक्राउ

२०७८ पौष १३ मंगलबार २१:५५:०० मा प्रकाशित

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत ठगी कार्यमा संलग्न एक युवक पक्राउ परेका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–१० का २३ वर्षीय रमेश थारु अनलाइन ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वयमा थारुलाई सोमबार पक्राउ गरेको हो । विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत डीएसएलआर क्यामेराको खरिद तथा विक्री गर्न आकर्षक विज्ञापनमा सम्पर्क नम्बरसमेत राखेर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीका अनुसार ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम फेसबुकमार्फत पहिला पठाउन भनी सामान डेलिभरीपूर्व नै ग्राहकहरूको केही रकम आईएमई पे एप, ई–सेवामार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहीन भएको खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

ताजा खबर