सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

२०७८ पौष १३ मंगलबार १४:५९:०० मा प्रकाशित

काठमाडौँ । नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।

लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि जितेको हो ।

नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो । अघिल्लो संस्करण एउटा सेट पनि नगुमाई उपाधि जितेको नेपालका लागि यसपल्ट उपाधि यात्रा कठिन रह्यो ।

श्रीलंका र उज्वेकिस्तानको सहभागिताले प्रतियोगिता प्रतिस्पर्धात्मक बनेको हो । उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा कायम राखेको थियो । पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो । अन्य सबै खेलमा सोझो जित निकालेको थियो ।

ताजा खबर