भारत सरकारद्वारा मदर टेरेसाको संस्थालाई विदेशी सहयोग लिन रोक

२०७८ पौष १३ मंगलबार ११:५३:०० मा प्रकाशित

भारतमा मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थाले विदेशबाट आर्थिक सहयोग लिन पाउने अनुमति नवीकरण गर्न भारत सरकारले अस्वीकार गरिदिएको छ । भारतमा मिशनरीज अप च्यारिटीसँग हजारौँ इसाई ननहरू आबद्ध छन् । उनीहरू टुहुरा बालबालिकाका लागि सञ्चालित आश्रयस्थल, विद्यालय, क्लिनिक र हस्पिसको रेखदेखमा खट्छन् ।

भारतको गृह मन्त्रालयले केही प्रतिकूल निवेशबारे पत्ता लागेकाले मिशनरीज अफ च्यारिटीको दर्ता नवीकरण अस्वीकार गरिएको जनाएको छ । चरमपन्थी हिन्दूहरूले उक्त संस्थाले आफ्ना कार्यक्रमहरूको आडमा धर्मप्रचार गर्न तथा मानिसहरूलाई धर्म परिवर्तन गराएर इसाई बनाउन खोजेको आरोप लगाउने गरेका छन् । तर मिशनरीज अफ च्यारिटीले त्यस्ता आरोपको खण्डन गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरी उसले संस्था नवीकरणको आफ्नो आवदेन अस्वीकृत भएको पुष्टि गर्दै यो विषय टुङ्गोमा नपुगुन्जेलसम्म आफूले कुनै विदेशी खाता नचलाउने बताएको छ । यसअघि पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सरकारले च्यारिटीका बैंक खाता रोक्का गरिदिएको भन्दै ट्वीट लेखेपछि उनको आलोचना भएको थियो ।

ममता बनर्जीले च्यारिटीलाई रोक लगाउँदा २२ हजार बिरामी तथा कर्मचारीले खाना तथा औषधि नपाउने टिप्पणी गरेकी थिइन् । बीबीसी हिन्दीले मिशनरी अफ च्यारिटीले ३४७ विदेशीबाट व्यक्तिगत र ५९ वटा संस्थाबाट ७५ करोड भारतीय रुपैयाँ दान लिएको जनाएको छ ।

संस्थाको खातामा गत वर्ष विदेशबाट प्राप्त २७.३ करोड रुपैयाँ बाँकी भएको र अहिले कुल १०३.७६ करोड रुपैयाँ भएको विवरण द हिन्दूले प्रकाशित गरेको छ ।

उनले कोलकातामा सन् १९५० मा कुष्ठरोगीहरूको सेवा गर्न मिशनरीज अफ च्यारिटी स्थापित गरेकी थिइन् । मदर टेरेसाले सन् १९७९ मा नोबेल पुरस्कार पाएकी थिइन्।

ताजा खबर