अमेरिकामा कोरोना संक्रमितले आइसोलेशनमा बस्ने अवधि घटाइयो

२०७८ पौष १३ मंगलबार १०:०८:०० मा प्रकाशित

अमेरिकाले लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको छ ।

अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेका छन् । कोभिड सङ्क्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो ।

ओमिक्रोन भेरियन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन् । सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ ।

उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ । यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ ।

बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नु नपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ । सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताइन् ।

यसअघि सोमबार राष्ट्रपति बाइडनले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चुनौती देखिए सङ्घीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध गरेका थिए । एउटा अनलाइन बैठकमा उनले केही अस्पतालहरूमा भिड हुनसक्ने भएपनि अमेरिकीहरूले आत्तिनु नपर्ने बताएका थिए ।

हाल अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरियन्टका रूपमा देखिएको छ र त्यहाँ पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन् । विभिन्न शहर र स्थानीय अधिकारीहरूले बढ्दो सङ्क्रमणको नियन्त्रणका लागि नयाँ कदमहरू चालिरहेका छन्।

ताजा खबर