कैदी भगाउन सहयोग गरेको अभियोगमा जेलर पक्राउ

२०७८ पौष १२ सोमबार २३:४८:०० मा प्रकाशित

दाङ । दाङको घोराही कारागारका कैदी भगाउन सहयोग गरेको अभियोगमा जेलर युवराज परियार पक्राउ परेका छन् । परियारले योजनाबद्ध रुपमा कैदीलाई भगाउन भूमिका खेलेको पाइएपछि अनुसन्धानका लागि सोमबार पक्राउ गरिएको कारागार प्रशासनले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका गढवा गाउँपालिका–३ बेलाका २९ वर्षीय यमराज परियार उपचारको बहानामा बिहीबार कारागारबाट निस्केर भागेका थिए । कैदी परियारलाई भगाउन जेलर परियारले विभिन्न किसिमले सहयोग गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । परियार पुस ६ देखि १३ गतेसम्म बिदामा बसेका थिए ।

८ गते बिहान कारागारमा आएर उनले कैदी परियारलाई उपचारका लागि बाहिर जान अनुमति दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । बिदामा बसेको बेला कार्यालयमा आएर कैदीलाई बाहिर जान दिएपछि र अन्य विभिन्न सम्बन्ध खुलेपछि परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कारागार सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, एक प्रहरी हवल्दार र प्रहरी जवान धनबहादुर चौधरी पनि नियन्त्रणमा छन् । छालाको उपचार गर्न भन्दै परियार प्रहरी जवान धनबहादुर चौधरीका साथ बिहीबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा कारागारबाट बाहिर निस्किएका थिए ।

कैदी परियारलाई जेलर परियारले भदौ २३ मा कारागारको नाइके बनाएका थिए । त्यसपछि दुईजनाबीच लामो समयसम्म विभिन्न सम्बन्ध भएको प्रहरीले पत्ता लगाएको छ ।

भाग्न प्रयोग गरेको मोटरसाइकल लमही नगरपालिका ६ बेलदमारको जंगलमा फेला परे पनि कैदी भने अझै फेला परेका छैनन् । परियारको खोजीमा डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा जिल्लाको प्रहरी टोली खटिएको छ । सीआईबीको टोली पनि अनुसन्धान र खोजीमा खटिएको छ ।

ताजा खबर