बङ्गलादेशमा गतहप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ

२०७८ पौष १२ सोमबार १८:३०:०० मा प्रकाशित

बङ्गलादेश प्रहरीले सोमबार गतसाता आगलागी भएको पानीजहाजका मालिकलाई पक्राउ गरेको छ । करिब ७०० यात्रु दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाजमालिकलाई पक्राउ गरेको हो ।

कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हामफाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन् ।

मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबको उनीहरूले बताएका छन् । पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताए ।

ओबिजान–१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो । समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताए ।

ताजा खबर