खेलाडीहरुलाई प्रतिबन्धित औषधि सेवन नगर्न नगराउन मन्त्रालयको अनुरोध

२०७८ पौष १२ सोमबार १७:५०:०० मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले विभागीय टिमका नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी र प्रशिक्षकलाई ‘खेलकुदमा प्रतिबन्धित औषधि सेवन तथा विधि विरुद्ध’ सचेतना प्रदान गरेको छ ।

मन्त्रालयले प्रतिबन्धित औषधिको सेवन एवं विधि अवलम्बन नगर्न नगराउन तथा व्यापक प्रचारप्रसारमा जुट्न खेलाडी, प्रशिक्षक, अफिसियल, व्यवस्थापक र सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा खेल क्षेत्रमा प्रतिबन्धित औषधि प्रयोग एवं विधि विरुद्ध भइरहेका गतिविधि तथा यसका तत्कालीन र दीर्घकालीन प्रभावबारे खेलाडी एवं प्रशिक्षकलाई जानकारी गराइयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका राष्ट्रिय महिला फुटबल टिमका खेलाडी र प्रशिक्षक सहभागी थिए ।

खेल क्षेत्रलाई सबै प्रकारका अस्वस्थ्य प्रभावबाट मुक्त राख्नका लागि वल्र्ड एन्टी डोपिङ एजेन्सी(वाडा)ले खेल विशेषका खेलाडीलाई तोकिएका औषधि प्रयोग गर्न र अन्य उपाय अवलम्बन गर्न निषेध गरेको छ । खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवं निषेधित उपाय अवलम्बन विरुद्धको महासन्धि कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिइयो ।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले प्रतिबन्धित औषधि सेवन र विधि विरुद्धको नीतिगत, कानुनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी रणनीतिबारे जानकारी दिए । विशेषज्ञ डा सरोजकृष्ण श्रेष्ठले प्रतिबन्धित औषधि सेवन र विधिका विभिन्न पाटो पक्षबारे समेटिएको सचेतनामूलक प्रस्तुती गरे । प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएमा जुनसुकै खेलकुद प्रतियोगितामा प्राप्त पदक गुम्ने मात्र नभई मुलुकको प्रतिष्ठानमै आँच आउने भएकाले खेलाडी र प्रशिक्षकले औषधि खरिद र प्रयोगमा निकै सचेत रहनुपर्ने सुझाव दिइयो ।

प्रतिबन्धित औषधि सेवनले खेलाडीको स्वास्थ्यमा मात्र नभई सामाजिक एवं मनोसाजिक वातावरणमा प्रतिकूल असर पर्ने तथा दीगोरुपमा खेल खेल्न सक्ने अवस्थामा ह्रास आउने पनि जानकारी दिइयो । नेपालका केही खेलाडी विगतमा प्रतिबन्धित औषधि प्रयोगका कारण प्राप्त गरेको पदक खोसिएको थियो भने खेलाडी केही समय निलम्बनमा परेका थिए ।

खेलकुद प्रतियोगितमा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरे वा नगरेकाबारेमा रगत र पिसाव परीक्षणबाट नतिजा प्राप्त हुन्छ । निकै लामो समयसम्म औषधिको असर रहने भएकाले खेलाडीले त्यस्ता निषेध गरिएको औषधि प्रयोग गर्न तथा खेलकुद प्रतियोगितमा भाग लिने क्रममा कसैको भरिया हुनबाट जोगिन पनि विशेषज्ञबाट सुझाव दिइयो । प्रतिबन्धित औषधि प्रयोग भएको फेला परेमा खेलाडी प्रतिष्ठा सदाका लागि गुम्ने खतरा भएकाले कमाएको इज्जतलाई बचाइ राख्न तथा खेलकुद क्षेत्रलाई स्वच्छ र स्वतन्त्र बनाउन होसियारी रहन मन्त्रालयले सबै पक्षसँग आग्रह गरेको छ ।

ताजा खबर