सेन्ट्रल जोन भलिबलमा नेपाल फाइनलमा

२०७८ पौष १२ सोमबार १६:१७:०० मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

यसपटकको च्याम्पियनसिपमा सेटर कृपा अधिकारी र मिडल ब्लकर मनिष चौधरीले राष्ट्रिय टोलीमा पूनरागमन गर्दै खेल्दा शान्ति थारु, कामना विष्ट र लक्ष्मी चन्दले डेब्यु गरिन् । अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

उज्वेकिस्तानले सोमबारै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो । मंगलबारै श्रीलंका र किर्गिस्तानबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो ।

समान ११ अंक नै रहेपनि सेटमा श्रीलंका पछि पर्यो । किर्गिस्तानले ६ अंक जोड्यो । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । नेपालले बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

ताजा खबर