त्यो के थियो श्राप वा वरदान ?

२०७८ पौष १२ सोमबार ११:३०:०० मा प्रकाशित

देवयानीकी घनिष्ठ साथी थिइन— शर्मिष्ठा, जो असुरहरूका राजा वृषपर्वाकी छोरी थिइन् । एकपटक एउटा यस्तो घटना घट्यो, जसले एक प्रकारले कुरु वंशलाई जन्म दियो । दुईजना जवान केटीहरू नुहाउनको लागि नदीमा गए । शर्मिष्ठा, असुरहरूका राजकुमारी थिइन्; देवयानी पुरोहित शुक्राचार्यकी छोरी थिइन् । अर्थात्, उनी ब्राह्मण कुलबाट आएकी थिइन; त्यसबेला ब्राह्मण वर्गलाई सामाजिक स्तरमा सबैभन्दा उच्च मानिन्थ्यो । त्यसैले, नुहाउन जाँदाखेरी दुवैले आ–आफ्ना कपडा र गहनाहरू छुट्टाछुट्टै राखे ।

उनीहरू नदीमा क्रिडा गरिरहेका थिए । त्यसैबेला, ठूलो हावाहुरी चल्यो अनि उनीहरूको कपडा एकआपसमा मिसियो । जब दुवैजना नदीबाट बाहिर निस्किए, तब कपडा लगाउने हडबडीमा शर्मिष्ठाले गल्तीपूर्वक देवयानीको कपडा लगाउन पुगिन् । यता देवयानीले त्यो देखेपछि, अलिकति ठट्टा अनि अलिकति आफ्नो श्रेष्ठता जताउने भावमा भनिन्, “अरे ! आफ्नो बुबाको गुरुकी छोरीको कपडा लगाउने हिम्मत कसरी गर्यौ ? तिमी कस्तो महसुस गरिरहेकी छौ ? अनि, के यो उचित हो र ?’

शर्मिष्ठाले आफ्नो गल्ती महसुस गरिन् । तर, एक राजकुमारी भएको आडमा उनी क्रुद्ध भइन्, “तिम्रो बुबा भिखारी हुन् । उनले मेरा बुबाको अगाडि शिर झुकाउँछन् । मेरा बुबाले दिनुभएको अनुदानले नै तिमीहरूको जीविका चलिरहेको छ । आफ्नो औकात के हो भनेर राम्रोसँग बुझ ।” यति भनिसकेपछि उनले देवयानीलाई खाल्डोमा धकेलिन् । देवयानी लडिन् । शर्मिष्ठा उनलाई त्यहीँ छोडेर झोक्किँदै गइन् ।

घर आइपुगेपछि देवयानीले बुबाको काखमा शिर राखेर प्रतिशोधको भावमा रुँदै भनिन्, “तपाईंले त्यस राजकुमारीलाई पाठ सिकाउनै पर्छ ।” आफ्नी छोरीलाई अपमान गरेको भन्दै शुक्राचार्यले राजकुमारी शर्मिष्ठा देवयानीको सुसारे हुनुपर्ने माग राखे । राजासँग कुनै विकल्प थिएन, किनकि मृतहरूलाई पुनः जीवित गर्न सक्ने शुक्राचार्य नहुने हो भने, उनी केही पनि गर्न सक्दैनथे । शर्मिष्ठाले देवयानीको सुसारे हुनुपर्ने श्राप पाइन् ।

महाभारतको कथाभरि श्राप र वरदानहरू देख्न सकिन्छ । तर, तपाईंलाई श्राप वास्तवमा वरदान हो वा वरदान वास्तवमा श्राप हो भन्ने कुरा नै पत्तो हुँदैन, किनभने जीवनले आफ्नै तरिकाले अनेक परिस्थितिहरूलाई अल्झाउँदै लैजान्छ । श्राप पनि वरदान बन्दछ; वरदान पनि श्राप बन्दछ ।

केही समयपछि, ययातिसँग देवयानीको विवाह तय भयो । देवयानीले आफ्नो विवाहपछि शर्मिष्ठा पनि आफ्नो व्यक्तिगत सुसारेको रूपमा उसको ससुराली जानुपर्ने अडान राखिन् । देवयानीले पहिल्यै आफ्नो बदला लिइसकेकी थिइन्, त्यसैले त्यो विषयलाई त्यहीँ छोडिदिनु पर्थ्यो, तर उनी त्यो विषयलाई अझ तन्काउन चाहन्थिन् । अतः विवाहपछि शर्मिष्ठा सुसारेको रूपमा देवयानीसँगै गइन् । ययाति र देवयानी पति–पत्नीको रूपमा सँगै रहन थाले । केही समयपछि उनीहरूको बच्चा जन्मियो, जसको नाम यदु राखियो । यही यदु कुलबाट यादवहरू आएका हुन् ।

देवयानीकी सुसारे भए तापनि, राजकुमारी भएकोले शर्मिष्ठाले आफूलाई गरिमापूर्ण ढङ्गले राखेकी थिइन् । उनी आफूलाई देवयानीभन्दा पनि सुन्दर बनाउने गर्थिन् । अनि, यो त हुनु नै थियो— ययाति उनको प्रेममा डुबे ! उनीहरूबिच गोप्य रूपमा प्रेम सम्बन्ध चल्न थाल्यो, अनि केही समयपछि उनीहरूमार्फत एउटा बच्चा जन्मियो— पुरु । पुरु पछि गएर कुरु वंशको जनक (पिता) बने ।

ययातिको पहिलो सन्तान हुनुको नाताले यदु स्वाभाविक रूपमा राजा हुनुपर्ने थियो, तर गलत आचरणको कारण उनी राजा बन्न पाएनन् । आफ्नी छोरीलाई धोका दिएर ययातिले सुसारेसँगको सम्बन्धबाट सन्तान जन्माएको कुरा थाहा पाएपछि शुक्राचार्यले ययातिलाई श्राप दिए, “तेरो युवावस्था गुमोस् अनि तँ बूढो बनेस् ।” श्रापित भएपछि ययाति बूढो मानिस बने ।

उनले त्यो अवस्थालाई स्वीकार गर्न सकेनन् । यता यदु हुर्किँदै गए अनि जवान भए । यदु जवान भएपछि ययातिले उनलाई आग्रह गरे, “मलाई तिम्रो जवानी देऊ । म केही वर्षसम्म त्यसको सुख भोग गर्छु अनि पछि फिर्ता गरिदिनेछु ।” यदुले भन्यो, “अहँ, कदापि हुँदैन । पहिलो कुरा त तपाईंले मेरी आमालाई धोका दिनुभयो । अब तपाईं मेरो जवानी लिएर मलाई छल्न चाहनुहुन्छ । म त्यस्तो कहिल्यै गर्दिनँ ।” यति सुनेपछि झोँक्किँदै ययातिले श्राप दिए, “तँ कहिल्यै पनि राजा बन्न नपाएस् ।”

ययाति र शर्मिष्ठामार्फत जन्मिएका अर्का छोरा पुरुले स्वेच्छाले बुबालाई आफ्नो युवावस्था दिँदै भने, “बुबा, तपाईं युवावस्थाको भरपूर आनन्द लिनुहोस् । यसले मेरो लागि कुनै महत्त्व राख्दैन ।” ययाति पुनः युवा भए अनि केही समयसम्म युवकको रूपमा जीवन बाँचे । जब उनलाई जवानीको आनन्द लिन पुग्यो भन्ने महसुस भयो, तब उनले छोरा पुरुलाई युवावस्था फिर्ता गरिदिए अनि पुरुलाई राजा बनाए । पुरु राजा बने, अनि पछि उनको वंशजलाई कुरु भन्न थालियो, जसमार्फत पाण्डव र कौरवहरूको जन्म भएको हो । यो पूरै कथा यिनै दुई वंशहरूको बारेमा रहेको छ ।

–सद्गुरुको प्रवचनमा आधारित- महाभारत अध्याय ३

 

ताजा खबर