दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमण वृद्धि भएपछि रात्रिकालीन कर्फ्यु घोषणा

२०७८ पौष १२ सोमबार ०९:३३:०० मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमबारदेखि पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो ।

बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो । यो निर्णय आजबाटै लागु हुनेछ । पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो । उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो ।

त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजारलाई संक्रमण पुष्टि भएको छ । दिल्लीबाहेक अरू कैयौँ भारतीय राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् ।

तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन् । हालसम्म भारतमा चार सयभन्दा बढी ओमिक्रोन भेयिअन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन्।

ताजा खबर