एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

२०७८ पौष ११ आइतबार २०:५४:०० मा प्रकाशित

धनगढी । विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको हो । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई सात विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

उपाधि जितेसँगै एपिएफले पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्यो । फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी वेगमले ११ रन बनाइन् ।

अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङतर्फ एपिएफका लागि सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन् । ६८ रनको विजयी लक्ष्य एपिएफले १४ दशमलब दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । एपिएफका लागि ज्योति पाण्डेयले अविजित ३७ तथा ममता चौधरीले १७ रन बनाइन् ।

बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । एपिएफ की सीता रानामगर ‘प्लेयर अफ दी म्याच’ तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन् ।

क्षेत्रीले पाँच खेलमा १५७ रन बनाउनुका साथै आठ विकेटसमेत लिएकी थिइन् । यस्तै दुई अर्धशतकसहित १७६ रन बनाएकी अप्सरी वेगम उत्कृष्ट ब्याट्सवुमन घोषित भइन् । नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको संयुक्त आयोजनामा यही पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र एक विभागिय टोलीले प्रतिस्पर्धा गरेका थिए ।

ताजा खबर