मैले राष्ट्रघात गरुँला र ?

२०७८ पौष ११ आइतबार १८:५५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको दाबी गरेका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुलाई पढ्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री देउवाले भने, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुपर्यो, अध्ययन गर्नुपर्यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धि किन गरुँला ? त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छन् ।”

विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको स्पष्ट पारे । व्यापक छलफल गरेर एससीसी सहमतिका साथ पास गराउने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले पाँच दलीय गठबन्धन संसदको पूरै कार्यकालसम्म चल्ने बताए । प्रधानमन्त्रीले गठबन्धन कसैका विरुद्ध नभएको पनि बताए । उनले भने,‘कसैको विरुद्ध होइन गठबन्धन, अहिलेको संविधानबाट संसद् पूरा कार्यकाल चलोस् । मन परेन भने कसैले भंग नहोस् । बीचमा संसद भंग नहोस् भन्ने पुनित उद्देश्य राखेर संविधानमा राखेको हो ।’

ताजा खबर