एमालेलाई प्रतिगमनकारीको बिल्ला भिराएको भन्दै महासचिव पोखरेलको आपत्ति

२०७८ पौष ११ आइतबार १८:३६:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जनादेशका लागि चुनावमा जान खोज्दा प्रतिगमनको लेबल लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनादेशका लागि चुनावमा जान खोज्दा एमालेलाई प्रतिगमनकारी भनिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘एमाले र माओवादी एक भएर चुनावमा गएका थियौं । हामी एक थियौं तर पछि अलग अलग भयौं । जनताको जनादेशमा जान खोज्दा प्रतिगमनको लेबल लगाइयो त्यो गलत हो । जनतामा नयाँ जनादेशका लागि जाँदा कसरी प्रतिगमन हुन्छ ?’

उनले एमाले र माओवादीबीचको एकता गलत नभएको र जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताए । उनले आजको परिवर्तन सामूहिकताको परिणाम भएको भन्दै त्यसलाई विर्सन नहुने बताए । उनले भने, ‘एक दलले मात्र परिवर्तन ल्याएको होइन । बलियो वामपन्थी शक्ति निर्माणका लागि देशव्यापी रुपमा चुनाव लड्यौं । जनताको भावनालाई सम्मान गर्दै नेकपा गठन गर्यौं । तर त्यो नेकपालाई रक्षा गर्न सकेनौं । कसैलाई दोष दिएर उम्कने ठाउँ छैन । स्वार्थका प्रश्नमा अल्झेर ओझेलमा परे । नेकपा गठन गलत थिएन । जोगाउन नसकेकोमा पछुतो छ । राष्ट्रियताका प्रश्नमा नेपालका राजनीतिक दलहरु विभाजित हुनुपर्ने अवस्था छैन । यसले हामीलाई सखाप बनाउँछ । नियन्त्रित अस्थिरताको शिकार दलहरु हुनु हुँदैन । म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु । समाज बदल्न सामाजिक र आर्थिक मुद्दालाई अगाडि लैजानुपर्छ ।'

उनले अधिकारका प्रश्नमा नेपालका राजनीतिक दलहरु मिल्न सक्ने तर जनताका विकासका मागमा किन एक हुन नसक्ने भन्दै प्रश्न गरे । उनले भने, ‘नेकपा एमालेले चाहेको समाज र माओवादीले चाहेको समाज फरक हो र ? यदि होइन भने किन हामी किन फरक छौं त ? पूर्वाधार विकासका प्रश्नमा हामी एक ठाउँमा उभिन सक्छौं । यसमा हामी किन विमति राख्ने ? यही पूर्वाधार भित्र पूँजीवाद र समाजवाद निर्माण हुन सक्छ । यसो गर्न सक्यौं भने मात्र देश बलियो हुन्छ । पार्टी मात्र बलियो भएर केही हुन्न देश बलियो हुनुपर्छ ।’

उनले नेपालका राजनीतिक दलहरु अधिकारका मुद्दामा मात्र च्याम्पियन बनेका भन्दै यसमा सबैले समीक्षा गर्नुपर्ने बताए । उनले भने, ‘गिरिजा प्रसाद कोइरालाले भन्नु हुन्थ्यो एउटै पुस्ताले तीन वटा क्रान्ति गर्यो । तर क्रान्तिले किन निर्माण र परिवर्तन गर्न सकेन ? यस आधारमा हामीले समीक्षा गर्नुपर्छ । अधिकारका मामिलामा राजनीतिक दल च्याम्पियन बन्यौं तर समृद्धिका मामिलामा कर्तव्यमा मामिलामा मनन नगर्ने हो भने जनताले के भन्छन् ? यस प्रश्नमा घोत्लिनु जरुरी छ ।’

ताजा खबर