पूर्व माओवादी शक्तिको एकताका लागि सीपी गजुरेलका चार शर्त

२०७८ पौष ११ आइतबार १७:०२:०० मा प्रकाशित

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले पूर्वमाओवादीसँग एकताका लागि चार शर्त अघि सारेका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गजुरेलले एकताका लागि महाधिवेशनले महत्वपूर्ण चार निर्णय लिनुपर्ने शर्त राखेका हुन् ।

गजुरेलले एकताका लागि महाधिवेशनले जनयुद्व सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकको निर्णय पुनःस्थापित गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनले जनयुद्ध अपुरो र अधुरो रहेकाले नेपाललाई जनगणतन्त्र बनाउनका अघि बढ्नुपर्ने, राष्ट्रिय स्वाधिनताका केही विषयमा निर्णय लिनुपर्ने, एमसीसी खारेज गर्नुपर्ने र नेपालले गुमाएका भूभाग नक्सामा पाए पनि वास्तविकतामा नपाएकाले यसबारे निर्णय गर्न आग्रह गरेका छन् । उनले यी निर्णय माओवादी केन्द्रले यस महाधिवेशनबाट पारित गरेको खण्डमा पार्टी एकताका लागि बहस गर्ने ढोका खुला हुने बताए ।

ताजा खबर