सीमामा तनाव हुँदा पनि भारत र चीनबीच एक सय अर्ब डलरको व्यापार

२०७८ पौष ११ आइतबार १२:२१:०० मा प्रकाशित

भारत र चीनबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीचको द्विपक्षीय व्यापार यो वर्ष एकसय अर्ब अमेरिकी डलर (एक सय २० खर्ब रुपैयाँ) भन्दा बढीको व्यापार भएको छ ।

यत्रो ठूलो उपलब्धि भए पनि दुवै देशमा यसबारे खासै चर्चा भएको छैन । पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोधपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको हुनाले यस्तो भएको हुनसक्ने विश्लेषण गरिएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुई देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो । उक्त व्यापारले यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको हो । यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको छ ।

चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार ११४. २६३ अर्ब डलर पुगेको छ । जनजरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ ।

भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ । द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतका लागि द्रुत गतिमा व्यापार घाटा बढिरहेको छ ।

यसको अर्थ भारतले चीनमा जति समान बेच्छ त्योभन्दा कैयौँ गुणा धेरै खरिद् गरिरहेको छ । भारत र चीनबीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो आँकडा आएको हो।

ताजा खबर