प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधिका लागि एपिएफ र प्रदेश १ प्रतिस्पर्धा गर्दै

२०७८ पौष १० शनिबार २१:४९:०० मा प्रकाशित

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिम एपिएफ र प्रदेश नं १ भिड्ने भएका छन् । शनिबार भएका सेमिफाइनल प्रतिस्पर्धामा जित हासिल गर्दै यी दुवै टोली उपाधिका लागि भिड्ने भएका हुन् । आजको पहिलो सेमिफाइनल खेलमा प्रदेश नं १ ले सुदूपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गरेको छ ।

सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको विजयी लक्ष्य प्रदेश नं १ ले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश नं १ ले १६ दशमलव पाँच ओभरमा विजयी लक्ष्य पूरा गरेको हो । पहिलो विकेटका लागि ओपनरद्वय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै जितको आधार खडा गरेकी थिइन् । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन् । कविता जोशीको बलमा बोल्ड आउट भएकी काजलले टिमका लागि २८ रन बनाइन् ।

रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित नौ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिन सकिन् । यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८५ रनमात्रै बनाउन सकेको थियो ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७, कप्तान रितु कनौजियाले २५ र डल्ली भट्टले १२ रन बनाइन् । प्रदेश नं १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, सङ्गीता राई र ज्योति दनुवारले समान एक÷एक विकेट लिइन् । खेलमा प्रदेश नं १ की कप्तान रुविना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । दोस्रो खेलमा विभागीय टिम एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा तीन विकेट क्षति व्यहोर्दै १२९ रन बनायो । एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन् । त्यस्तै ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ र ज्योति पाण्डेयले ११ रन थपिन । लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान एक/एक विकेट लिइन ।

एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट क्षतिमा ९१ रन मात्र जोड्न सक्यो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन् । नितु भण्डारीले १८ रन जोडिन् । एपिएफका लागि रेखा रावलले तीन विकेट लिइन् । सीता रानामगरको नाममा एक विकेट रह्यो ।

खेलमा एपिएफकी रोमा थापा ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आइतबार हुने आयोजकले जनाएको छ ।

ताजा खबर