मच्छिन्द्र लिगको शीर्ष स्थानमा

२०७८ पौष १० शनिबार २०:१९:०० मा प्रकाशित

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मच्छिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।

सुनिलले खेलको इन्जुरी समयमा फ्रिकिकबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै मच्छिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मच्छिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको छ । जितपछि मच्छिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ । दोस्रो स्थानमा झरेको मनाङले ५ खेलमा १३ अंक जोडेको छ ।

शनिबारै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबमाथि सहज जित निकालेको छ । हिमालयनले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ । च्यासल अंक तालिकाको १३ औं स्थानमा रहेको छ ।

ताजा खबर