राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी निर्णय

२०७८ पौष १० शनिबार १९:४१:०० मा प्रकाशित

काठमाडौं । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो ।

यद्यपि सो निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । स्थायी समितिको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको जानकारी दिए ।

माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौँ महाविधेशनको नाम दिइने छ । माओवादीले वडा तहदेखि नै सम्मेलन सम्पन्न गरेकाले पनि महाधिवेशनमा परिणत गर्न कुनै कठिनाइ नभएको तर्क गरेको छ ।

राष्ट्रिय सम्मेलन सम्पन्न गरेको निश्चित समयपछि महाधिवेशन आयोजना गर्नुपर्ने भएकाले यसलाई नै परिणत गर्दा केही फरक नपर्ने सुझाव आएपछि यस्तो निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिए । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन ।

हाल कायम रहेका स्थायी समिति सदस्यलाई पदाधिकारीमा रुपान्तरण गर्ने गरी १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय शुक्रबारको स्थायी समिति बैठकले गरिसकेको छ । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय रहेको छ । आइतबारदेखि सुरु हुने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । त्यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।

माओवादीले प्रौढ, वयस्क र युवाको तीन तहको समिश्रणलाई पार्टीको केन्द्रीय समिति निर्माण हुने जनाएको छ । पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम पाँच प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ । खासगरी नीतिमा नै बहस गर्ने जनाएको माओवादीले नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मा दिएको छ । माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ ।

ताजा खबर