तनहुँको विमलनगरमा चट्टान आरोहण प्रतियोगिता सुरु

२०७८ पौष ९ शुक्रबार २१:५६:०० मा प्रकाशित

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि शुक्रबारदेखि चट्टान आरोहण प्रतियोगिता सुरु भएको छ । बन्दिपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लब पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण प्रतियोगिता सुरु भएको हो ।

पृथ्वीराजमार्ग विस्तारका क्रममा यस ठाउँ भत्किने चर्चा चलेसँगै यसको संरक्षणका लागि ध्यानाकर्षण गराउन प्रतियोगिता आयोजना गरिएको हो । ‘साहसिक पर्यटनको प्रवद्र्धन गरौँ : विमलनगर चुनपहरा जोगाऔँ’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता यही पुस १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा पुरुष र महिला दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । चट्टान आरोहणका लागि नेपाली र विदेशी गरी ५० जना सहभागी हुने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । जापान र नेदरल्याण्ड्सका एक/एक जना नागरिकले प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुनेलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिनेछ ।

गण्डकी प्रदेशमा रहेका पर्वतारोही आबद्ध संस्थाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर काम गर्दै आइरहेको छ । चट्टान आरोहण मानसिक तनाव कम गर्नका लागि उपयुक्त रहेको शाहीको भनाइ छ ।

उनका अनुसार सगरमाथा चढ्न जानुपूर्व चट्टान आरोहणले सहयोग पुर्याउँछ । चुनपहरा बचाउ अभियानका अभियानकर्मी एवं सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले चट्टान आरोहणको प्रशिक्षणस्थल बनेको यस ठाउँको संरक्षण गर्नुपर्ने बताए । अरु पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुनपहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ ।

हालसम्म आरोहणका लागि पत्ता लागेको पहराहरूमध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले यस ठाउँको संरक्षणका लागि गाउँपालिकाले पहल गर्दै आएको बताए । चुनपहरामा थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले अध्ययन गरिरहेको उनले बताए ।

“साहसिक पर्यटनको केन्द्रका रूपमा रहेको यस ठाउँमा थप पूर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गराउने लक्ष्य लिएका छौँ”, थापाले भने । उनका अनुसार राजमार्ग विस्तारका क्रममा यसको संरक्षणका लागि केही विकल्पमा छलफल भइरहेको छ । यहाँका स्थानीयवासीले पनि यस ठाउँको संरक्षण हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन् ।

राजमार्ग विस्तार योजनाअनुरूप सडकको मापदण्डानुसार मध्यविन्दुबाट दायाँ र बायाँ २५/२५ मिटर विस्तार गर्नका लागि चिह्न लगाउने कार्य सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको सडक विस्तार अति आवश्यक रहेको भए पनि पृथ्वी राजमार्गसँगै जोडिएको यस क्षेत्रको संरक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

चुन पहरा संरक्षण समितिले हाल कायम गरिएको सडक मापदण्डलाई आवश्यकतानुसार घटाउन, आरोहण क्षेत्रपट्टिको मापदण्ड घटाई खोलापट्टिको मापदण्ड बढाउन र विमलनगरको पुलबाट पारि करिब १.५ किलोमिटरको वैकल्पिक ट्रयाक खोली नयाँपुल हुँदै निस्कने सडक बनाउने विकल्प अगाडि सारेको छ ।

पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटकहरु चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकहरु र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुवाती अन्वेषण गरेपश्चात् क्रमबद्ध रूपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले यस क्षेत्रमा आरोहण गतिविधि गर्नुका साथै व्यवस्थापन गर्दै आएको छ ।

पहिला डरलाग्दो पहराका रूपमा लिइने यसले तनहुँ तथा नेपाललाई नै राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम गरेको छ । यहाँ साहसिक अभ्यास, तालिम तथा खेलकुद गतिविधि सञ्चालन हुने गरेको छ । यहाँ राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका छन् । पर्वतारोहण क्षेत्रमा आबद्ध सङ्घसङ्गठन, प्रतिष्ठान र क्याम्पसहरुले तहगत तालिमका सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा तथा परीक्षा यस ठाउँमा सञ्चालन गर्दै आइरहेका छन् ।

ताजा खबर