एपिएफ र एनआरटीको बराबरी

२०७८ पौष ९ शुक्रबार २०:१८:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) र विभागीय क्लब एपिएफले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपिएफले एनआरटीसँग ३–३ गोलको बराबरी खेलेको हो ।

रेलिगशेन क्षेत्रबाट माथि उठ्नका लागि जित्नै पर्ने दबाबमा रहेको एपिएफले दबाब दिएर खेले पनि रणनैतिक रुपमा सफल हुन सकेन । यस्तै एनआरटीको पनि बराबरीले तालिकाको वरियता सुधार गर्ने मौका गुमाएको छ ।

खेलको ६९ औं मिनेटसम्म लिएको ३–१ को अग्रता कायम राख्न नसक्दा एनआरटीले एपिएफसँग अंक बाँड्न बाध्य भयो । ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । दर्शनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गर्दा पाँच मिनेटपछि एपिएफले बराबरी गोल फर्काएको थियो ।

त्यसपछि खेल पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एनआरटीले आक्रामक खेललाई निरन्तरता दियो । ४८ औं मिनेटमा दर्शनले दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए ।

६१औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्न सक्यो । ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो । अशोक थापाको पासलाई स्टेफेन बिनोङको वान टच पासमा मेसुकेले वान भर्सेज वानमा गोल गरे । तर, ६५ औं मिनेटमा एपीएफका दीपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । नविन लामाको फ्री–किकमा दिपेशले उत्कृष्ट हेडर गोल गरे ।

त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै एपीएफलाई हारबाट जोगाए । बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच एनआरटीका दर्शन गुरुङ चुनिए । एपीएफका दिपेश धिमाल इमर्जिङ प्लेयर घोषित भए ।

ताजा खबर