दिल्लीमा सतप्रतिशतलाई कोभिडविरूद्धको खोप

२०७८ पौष ९ शुक्रबार २०:०६:०० मा प्रकाशित

भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिडविरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

ट्वीटरमार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड–१९ विरूद्धको खोपकोे पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

दैनिक एक करोड ४८ लाख ३३ हजार व्यक्तिले देशभरबाट कोभिडविरूद्धको खोप लगाउने गरेका उनले बताए । बिहीबार दिल्लीमा ११८ नयाँ कोभिड–१९ सङ्क्रमणका घटना दर्ता भएका थिए भने एक व्यक्तिको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा दिल्लीको सङ्क्रमण दर ०.१३ प्रतिशत रहेको बताइएको छ । यसैबीच राष्ट्रिय राजधानी नयाँ दिल्लीले डिसेम्बर १ देखि सक्रिय कोभिड–१९ मामिलामा ११८ प्रतिशत वृद्धि भएको जनाएको छ । दिल्ली राज्यको स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा पछिल्ला केही दिनमा कोरोनाभाइरस संक्रमण दर बढेको देखिएको छ ।

डिसेम्बर १३ सम्म दिल्लीमा दैनिक करिब ३० सङ्क्रमणका घटना भेटिएकोमा डिसेम्बर २२ मा आइपुग्दा दिल्लीले १२५ वटा सङ्क्रमणका घटना पुष्टि गरिएको छ । यो गत छ महिनामा सबैभन्दा बढी हो ।

ताजा खबर