प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनलाई अझै उल्ट्याउने षड्यन्त्रमाः प्रचण्ड

२०७८ पौष ९ शुक्रबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताएका हुन् । राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

कम्युनिष्ट पार्टीहरुबीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उनले बताए । उनले भने, ‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरु अहिलेपनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् ।

त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरु एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहीँ, कतै हामीले रिल्याक्स गर्ने स्थिति छैन । हामीले पुरै मेहनतका साथ अगाडि जानु छ । त्यसको निम्ति कम्युनिष्टहरु बीचको एकता सबभन्दा ठुलो कुरा हो ।’ उनले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिडेको टिप्पणी गरे ।

उनले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिदैँ लोहारको एक चोटको संज्ञा दिए । उनले भने, ‘हुनत अवसरवादीहरु अहिले गाउँ गाउँमा केही मान्छेको सिला खोज्दै हिड्ने गर्या छन् । तपाइँहरुले देख्नुभयो होला । पार्टी प्रवेशका नाउँमा भन्दै गाउँ गाउँ तिर सिला खोज्दै । तर सुनारको सय चोट लोहारको एकै चोट भन्याजस्तो आज हामीले लोहारको चोट हान्यौँ ।’

उनले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफूहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताए । कार्यक्रममा नेकपा मसाल (सम्पर्क केन्द्र)का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए ।

जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनआकांक्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे । त्यसअघि अध्यक्ष प्रचण्ड र संयोजक लम्सालले दुवै पार्टीबीच एकता सम्पन्न भएको घोषणा गरेका थिए । सम्पर्क केन्द्रको हाल ३९ जिल्लामा सङ्गठन तथा ६ जिल्लामा सम्पर्क कार्यालय रहेको सो अवसरमा संयोजक लम्सालले जानकारी गराएका थिए ।

 

 

 

 

ताजा खबर