चितवन राष्ट्रिय निकुञ्जमा एकवर्षमा १९ गैंडाको मृत्यु

२०७८ पौष ९ शुक्रबार ११:१३:०० मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आर्थिक वर्षको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ ।

यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा सिकारीले मारेको आशङ्का गरिएको उनले जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै आर्थिक वर्ष २०६९/७० मा १० गैँडा मरेको निकुञ्जको तथ्याङ्कले जनाएको छ । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् ।

गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । केही समय शून्य चोरी सिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् ।

गैँडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि बढी हुने गरेको छ । सङ्ख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढ्नुलाई अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरु वताउँछन् ।

 

ताजा खबर