अन्य भेरियन्ट भन्दा ओमिक्रोन कम घातक

२०७८ पौष ९ शुक्रबार ०८:५६:०० मा प्रकाशित

बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको देखाएका छन् । प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ ।

तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन् । ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ । स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ ।

त्यसले ओमिक्रोन पनि डेल्टा भेरियन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ । अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ ।

पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो एउटा राम्रो समाचार भएको बताएका छन् । ओमिक्रोन भेरियन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए । एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने, ‘अधिकांश जनसङ्ख्याका लागि व्यक्तिगत रूपमा यसको सङ्क्रमण कमजोर हुन सक्छ तर यी सबै सङ्क्रमणहरू एकै पटक हुँदा अस्पतालमा भिड लाग्न सक्छ।’

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ । अध्ययनले अन्य लहर र अन्य भेरियन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ । तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरियन्ट र अन्य भेरियन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ ।

ओमिक्रोन भेरिउन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ । अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ ।

सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ । एक अध्ययनकर्ता डा. नील फर्गुसनले यो स्पष्ट रूपमा एक हदसम्म राम्रो खबर भएको बताएका छन् ।

तर उनले यो कमीले अहिलेको अवस्थालाई नाटकीय रूपमा फरक पार्न यथेष्ट नभएको र धेरै सङ्क्रमित हुँदा अस्पतालमा चाप बढ्न सक्ने बताए । अन्य प्रयोगशाला अध्ययनहरूले पनि ओमिक्रोन कम घातक हुने कारणहरूबारे बताएका छन् ।

हङकङ विश्वविद्यालयले ओमिक्रोनले श्वासनलीमा धेरै असर गर्ने तर फोक्सो भित्र धेरै असर गर्न नसक्ने बताएको छ । केम्ब्रिज विश्वविद्यालयले गम्भीर बिरामी पार्ने गरी फोक्सोको कोषलाई असर गर्न नसक्ने बताएको छ । बेलायतले चाँडै नै ओमिक्रोन सङ्क्रमणका बारेमा तथ्याङ्क प्रकाशन गर्ने बताइएको छ जसले यसका ल्याएको अवस्थामा बारेमा थप जानकारी हुनेछ।

ताजा खबर