प्रधानमन्त्री महिला कप क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

२०७८ पौष ८ बिहीबार १७:५९:०० मा प्रकाशित

धनगढी । धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले एकमा हार र दुईमा जित दर्ता गर्दै चार अङ्कसहित सेमिफाइनलमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिममा निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बिन्दु रावलले ५०रन सहित अर्धशतकीय पारी खेलिन । रुबि पोदारले २१, डल्ली भट्टले १५, कविता जोशी र सङ्गीता धामीले समान १३/१३ रन बनाइन । प्रदेश–२ का लागि बिमला मगरले दुई र साना प्रविन, अनुराधा चौधरीले एक एक विकेट लिइन् ।

एक सय ४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश– २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६रन मात्रै बनाउन सक्यो । उसका लागि साना प्रविनले १४र बिमला मगरले १२ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । सुदूरपश्चिमका कविता जोशी र लक्ष्मी साउँदले समान दुई विकेट लिदा इश्वरी विष्टले एक विकेट लिइन । बिन्दु रावल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

ताजा खबर