निर्वाचनको तयारीमा जुट्न पार्टीका जनवर्गीय सङ्गठनलाई उपाध्यक्ष पौडेलको निर्देशन

२०७८ पौष ७ बुधबार २०:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

उनले मुलुक निर्वाचनमय बन्दै गएको र अबका केही समयमै स्थानीयदेखि सङ्घीय संसद्कै निर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै जनवर्गीय सङ्गठनका नेतृत्वलाई निर्देशन दिएका हुन् ।

पार्टीको जनसङ्गठन समन्वय संयन्त्रको बुधबार बसेको बैठकमा उपाध्यक्ष पौडेलले फागुन मसान्तभित्र सबै जनसङ्गठनका राष्ट्रिय अधिवेशन र सम्मेलन सम्पन्न गर्न पनि निर्देशन दिए । उनले सङ्गठनहरुलाई चुस्त दुरुस्त राख्न निर्देशन दिँदै पार्टीका सबै जनसङ्गठनहरु कार्यकर्ता उत्पादन गर्ने नर्सरी भएकाले पार्टीको नीति र नेतृत्वसँग मेल खानेगरी अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

उपाध्यक्ष पौडेलले पार्टीका जनसङ्गठनहरु वैचारिक र साङ्गठनिक हिसाबले स्पष्ट हुनुपर्ने बताउँदै केही कमीकमजोरी भएमा सच्चाएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा महासचिव शङ्कर पोखरेल र यस संयन्त्रका संयोजक भानुभक्त ढकालले सङ्गठन परिचालनका विविध विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा जनसङ्गठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी थिए । हालै चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि जनसङ्गठन समन्वय संयन्त्रको आज पहिलो बैठक बसेको थियो ।

 

ताजा खबर