म्यानमारमा खानीमा पहिरो जाँदा कम्तीमा एक सय जना बेपत्ता

२०७८ पौष ७ बुधबार १८:३८:०० मा प्रकाशित

म्यानमारमा बहुमूल्य रत्न ’जेड’ को एउटा खानीमा गएको पहिरोमा कम्तीमा एक सय जना मानिसहरू हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ । उद्धार टोलीहरूले खानी नजिकैको तालमा खोजी गरिरहेका छन् र अधिकांश पीडितहरू गैरकानुनी रूपमा खानी उत्खनन् कार्यमा संलग्न व्यक्तिहरू भएको बताइएको छ । हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधवार बिहान उक्त पहिरो गएको थियो । म्यानमार जेडका लागि विश्वकै एक प्रमुख श्रोत हो र यसका खानीहरूमा कैयौँ दुर्घटना भएका छन् । लरीहरूबाट खुला खाल्डाहरूमा फालिएका ढुङ्गामाटोको ठूलो परिमाणमा बग्न जाँदा पहिरो गएको ठानिएको छ ।

ती ढुङ्गामाटोको कारण त्यहाँको जमिन धेरै भिरालो हुन पुगेको र रूख विरुवा केही नभएको त्यस्तो क्षेत्र खतरनाक हुनसक्ने बताइन्छ । त्यस्तो असुरक्षित ठाउँमा बहुमूल्य पत्थरको खोजी गर्नु जोखिमपूर्ण हुने बताइन्छ । झन्डै दुई सय मानिस सहितको उद्धार टोली घटनास्थलमा पुगेको छ। नजिकैको तालमा हराइरहेका व्यक्तिहरूको डुँगाबाट खोजी भइरहेको छ ।

पाकान्टमा जेडको उत्खनन् गर्न प्रतिबन्ध लगाइएको छ तर स्थानीय बासिन्दाहरूले बारम्बार नियमको उल्लङ्घन गर्ने गरेका छन् । रोजगारीको अभाव र कोभिड महामारीले निम्त्याएको अप्ठेरो अवस्थाले उनीहरूलाई खानीमा जान बाध्य पारेको बताइएको छ । गएको फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिएपछि उत्खनन् व्यवसाय फस्टाएको छ ।

केही समय अघि कम्तीमा १० जना अदक्ष कामदार पाकन्टकै अर्को जेड खानीमा बेपत्ता भएका थिए । सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण त्यहाँ रहेको ताल फुट्दा १ सय ६० भन्दा बढीको मृत्यु भएको थियो । म्यानमारले वर्षेनी ३० अर्ब डलर बराबरको जेड कारोबार गर्ने बताइन्छ। पाकान्टमा विश्वकै सबैभन्दा ठूलो जेड खानी रहेको छ।

 

ताजा खबर