ओमिक्रोन परीक्षणका लागि अमेरिकाद्वारा ५० करोड कीट खरिद

२०७८ पौष ७ बुधबार १०:२५:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्टसँग जुध्नका लागि ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउन लागिएको जनाएका छन् । मङ्गलबार गरिएको सम्बोधनका क्रममा उनले उनले परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने बताए । लकडाउनबारे भने अहिले नै नसोचिएको उनले बताएका छन् ।

हाल अमेरिकामा ओमिक्रोन भेरियन्टको दबदबा छ । पुष्टि भएका नयाँ सङ्क्रमितमध्ये झन्डै दुई तिहाइमा यो भेरियन्ट पाइएको छ । सुरुमा दक्षिण अफ्रिकामा पहिचान भएको ओमिक्रोन भेरियन्ट हाल विश्वव्यापी रूपमा फैलिएको छ ।

अमेरिकामा ओमिक्रोनका कारण हालसम्म एक जनाको मृत्यु भएको बताइएको छ । ७३ प्रतिशत वयस्क अमेरिकीहरूले खोपको पूर्ण मात्रा प्राप्त गरिसकेको भएपनि खोप नलगाएकाहरूबारे प्रशासन चिन्तित छ ।

अमेरिकामा खोप लगाउनका लागि १० हजार नयाँ केन्द्रहरू पनि स्थापना गर्न लागिएको छ जहाँ सैन्य चिकित्सकहरू खटाइने छ । ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यो जीवन र मृत्युबीचको अन्तर हुन सक्ने भन्दै अमेरिकीहरूलाई खोप लगाउन आग्रह गरेका छन्।

ताजा खबर