ओमिक्रोन रोक्न छुट्टीका योजना रद्द गर्न डब्ल्यूएचओको आग्रह

२०७८ पौष ६ मंगलबार ०८:१६:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठनले कोभिडको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो भएको बताएका हुन् । उनले भने, ‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ ।’

उनका अनुसार ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ । फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागू गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो । द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ ।

सोमबार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले देशलाई बन्द गर्ने योजना नबनाएको जनाएको छ । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका छन् ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलने क्रम कम गर्ने प्रयास स्वरूप युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम जारी राखेका छन् । लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ ।

आयरल्यान्डमा बार अनि रेष्टुराँ ८ बजेपछि सञ्चालन हुन नपाउने नियम लागु गरिएको छ । यसैबीच, युरोपेली सङ्घले अमेरिकी कम्पनी नोभाभ्याक्सले विकास गरेको कोभिड विरुद्धको खोपको प्रयोगलाई स्वीकृत गरेको छ । यो त्यहाँ प्रयोगमा ल्याउन लागिएको पाँचौँ कोभिड खोप हो ।

ताजा खबर