ओली गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने पक्षमाः प्रचण्ड

२०७८ पौष ५ सोमबार १६:४८:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् । उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको बताए ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने बताए । उनले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए । उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबी गरे ।

अध्यक्ष प्रचण्डले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गरे । उनले भने,‘गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटी सरकार बन्न दिने ,यदि नेपाली काँग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ ।’

प्रचण्डले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने र ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने बताए ।

ताजा खबर