हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाईज पराजित

२०७८ पौष ४ आइतबार १९:५२:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएर सिजनको पहिलो जित निकालेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा हिमालयन शेर्पाले  ब्रिगेड ब्वाइज (बिबिसी) लाई ३–१ गोल अन्तरले हराउँदै सिजनको पहिलो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पाले पाँचौ मिनेटमा अग्रता लिएपनि ५३ औं मिनेटमा गोल खान पुगको थियो । खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेपाले खेलमा अग्रता बनाएको थियो । तर तर भुवन बस्नेत ५३ औं मिनेटमा बिबिसीका लागि गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । अघिल्ला खेलमा स्पष्ट अंक जोड्न नसकेको हिमालयन शेर्पाले बिबिसीविरुद्ध बराबरीपछि आक्रामक खेल देखाएको थियो । सोही अनुसार शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए ।

कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पछि परेसँगै काउन्टरको प्रयास गरेको बिबिसीले इन्जुरी समयमा गोल खान पुग्यो । मनिष थापाले गोल गर्दै शेर्पाको जित निश्चित गरे । यससँगै मनिषले हिमालयन शेपाबाट डेब्यु गोल गरेका छन् ।

रोमाञ्चक जित सहित शेर्पाले ५ खेलबाट तालिकामा ५ अंक जोडेको छ । शेर्पा नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भएको बिबिसी गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । लिगमा सोमबार पनि एक खेल हुनेछ । दिउँसो १ बजे हुने खेल फ्रेन्ड्स र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ । 
 

ताजा खबर