साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

२०७८ पौष ४ आइतबार १९:३२:०० मा प्रकाशित

काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । बङ्गलादेशका ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत भने प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतको जितमा प्रियङका देवीले गोल गरिन् ।

उनले खेलको ६७ औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्नेे सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्यकता रहेको थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ ।

बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।

ताजा खबर