जननिर्वाचित संस्थालाई बन्धक नबनाउन एमालेलाई आग्रह

२०७८ पौष ४ आइतबार १८:१५:०० मा प्रकाशित

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) दलहरुसँग निरन्तर छलफल गरी एउटा निष्कर्षमा पुर्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार प्रधानमन्त्री निवास बलुवाटारमा बसेको सर्वदलीय बैठकमा एमसीसीलाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा एमसीसी र संसदको गतिरोधका विषयमा छलफल भएको थियो । कार्कीका अनुसार बैठकमा एमसीसीकाबारेमा दलका नेताहरुले आ आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । अब एमसीसीकाबारे छलफल गरी एउटा निष्कर्षमा पुर्याउने सहमति भएको उनले बताए ।

उनले भने, ‘एमसीसीकोबारेमा कसरी यसलाई अगाडि बढाएर लेजाने विषयमा छलफल भएको छ । केही दलका नेताले केही आशंका पनि गर्नुभएको छ । तर निरन्तर छलफल गरी चाँडै यसलाई निष्कर्षमा पुर्याउने सहमति भएको छ ।’

त्यस्तै बैठकमा संसद अवरोधका विषयमा पनि छलफल भएको छ । बैठकमा नेताहरुले जननिर्वाचित संस्थालाई बन्धक बनाउनु उचित नहुने बताएका थिए । कार्कीले संसद नै चल्न नदिने, विरोध गर्ने जस्तो कुराले ससदीय अभ्यास कमजोर हुने भएकाले एमालेलाई गतिरोध अन्त्य गर्न आग्रह गर्ने बताए । उनले सरकार प्रतिपक्षको माग सुन्न तयार रहेको बताए ।

उनले भने,‘जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन । प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको भएपनि एमालेले भने बैठक बहिष्कार गरेको थियो । एमालेले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै लगातार संसद अवरोध गरिरहेको छ ।

ताजा खबर