एसियन सेन्ट्रल जोन खेल्न जाने भलिबल टोलीको विदाइ

२०७८ पौष ४ आइतबार १७:०६:०० मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले विदाइ गरेको छ ।

आइतबार काठमाडौंमा भलिबल संघले एक कार्यक्रमको आयोजना गरी मंगलबारदेखि आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई विदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबसंघका पदाधिकारीले बिदाइ गरेका हुन् । दुबै टोली टोली सोमबार ढाका प्रस्थान गर्नेछ ।

विदाइपछि नेपाली पुरुष टोलीका कप्तान इमराना मगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए । पुरुष तर्फको टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । यस्तै महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ । कप्तान अरुणा शाहीले विगतको सहभागितामा भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षाका लागि खेल्ने बताइन् ।

डिसेम्बर २१ देखी २९ सम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाउँदै छन् भने महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ आयोजक बंगलादेश, मालदिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहने छ । यस्तै महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र को सहभागिता रहने छ ।

ताजा खबर