सिख धर्मग्रन्थको अपमान गर्न खोजेको भन्दै अमृतसरमा कुटीकुटी एक जनाको हत्या

२०७८ पौष ४ आइतबार १२:३५:०० मा प्रकाशित

भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक जनाको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको हो । ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेको बताइएको छ । सिख मन्दिरको गर्भगृहमा पवित्र धर्मग्रन्थ ’गुरु ग्रन्थ साहिब’ राखिएको हुन्छ ।

गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ । साँझको प्रार्थनाका बेला भएकाले उक्त घटना टेलिभिजनमा पनि प्रसारित भइरहेको थियो ।

त्यसपछि के भयो भन्ने स्पष्ट छैन। प्रहरीले चाहिँ आफू घटनास्थलमा पुग्दा ती व्यक्ति मृत पाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ । मृतकको परिचय खुलिसकेको छैन ।

पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन प्रहरीलाई आदेश दिएका छन् । आगामी वर्ष विधानसभा निर्वाचन हुन लागेको पञ्जाबमा धर्म पनि एउटा मुख्य विषय राजनीतिक मुद्दा बनेको छ।

ताजा खबर