ब्रिटेनको वायु सेनाद्वारा सिरियाको विद्रोही पक्षको ड्रोनमाथि आक्रमण

२०७८ पौष २ शुक्रबार ०९:११:०० मा प्रकाशित

ब्रिटेनको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालिदिएको छ । झण्डै ४० वर्षअघिको फोल्कल्याण्ड युद्धयता पहिलोपटक ब्रिटिश सेनाले शत्रुको विमानलाई निशाना बनाएको हो ।

ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार तीन दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो । उसले कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्ने खुलाएको छैन । रक्षामन्त्री बेन वालेसले उक्त हमलाले हवाई क्षेत्रमा शत्रुलाई निशाना साँध्न सक्ने आरएएफको सामर्थ्य प्रदर्शित गरेको बताए ।

साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलबार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न भनिएको थियो । पाइलटहरूले त्यसलाई पहिचान गरे र आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेका थिए । इराक नजिकैको सीमा क्षेत्रमा उक्त घटना भएको थियो ।

ब्रिटिश हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात् ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ । आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो यस्तो खालको हवाई कारबाही हो । इराक वा सिरियामा पनि बेलायतको हवाई फौजले पहिलोपटक यस्तो हमला गरेको हो ।

 

ताजा खबर