अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्युदर ३४ प्रतिशतले वृद्धि

२०७८ पौष १ बिहीबार २०:५८:०० मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।

बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ । यसैगरी सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४. ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.२ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७०.५ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हाल सम्म तेश्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ ।

ताजा खबर