पार्टी सभापतिलाई घच्घचाएर सही ठाउँमा उभ्याउछौंः गगन थापा

२०७८ पौष १ बिहीबार १९:११:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आगामी दिनमा पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।

महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताबीच सम्बोधन गर्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीहरुका बीचमा बढेको दूरीलाई कम गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ पार्टीको रुपमा अगाडि बढाउने बताएका हुन् । उनले पार्टीमा नजोडिएकाहरुलाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए ।

महामन्त्री थापाले पार्टीका पदाधिकारीहरु मिलेर पार्टी सभापतिलाई बल पुर्याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए । आफूसँग एकदिन पनि चुक्ने सुविधा नरहेको भन्दै थापाले पाएको जिम्मेवारी इमान्दारितापूर्वक र परिपक्व ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने,‘मलाई आज जुन अपार विश्वास र माया पार्टीको साथीहरुले दिनुभएको छ, मैले यो मतप्रति न्याय गर्नुपर्छ । एकदिन पनि चुक्ने सुविधा मसँग छैन । एक ठाउँपनि बिग्रने सुविधा म सँग छैन । थाक्ने सुविधा मसँग छैन । चार वर्षको लागि मैले जुन मत पाएको छु मत धेरै पाउनु भनेको, विश्वास धेरै पाउनु भनेको जिम्मेवारी धेरै पाउन तयार रहनुपनि हो । मैले अझै इमान्दारितापूर्वक, परिपक्व ढंगबाट यो जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । त्यो जिम्मेवारी म निर्वाह गर्छु ।’

उनले आफूले अघि सारेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को कार्यक्रमलाई पार्टीकै कार्यक्रम बनाउन प्रयास गर्ने बताए । उनले पार्टीको बेथितिलाई अन्त्य गर्दै विधानसम्मत् र विधिसम्मत् रुपमा चलाउने बताए ।

पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा बनेको भन्दै उनले त्यस्तो परम्परालाई भत्काउने बताए । महामन्त्री थापाले नेपाली कांग्रेसका लाखौँ सदस्यहरुलाई समाज रुपान्तरणको मुद्धाहरुमा सकारात्मक ऊर्जाको रुपमा प्रयोग गर्ने पार्टीको रुपमा लिएर जाने प्रयास गर्ने बताए ।

 

ताजा खबर