कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता

२०७८ पौष १ बिहीबार १२:४०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् ।

११९५ मत गणना हुँदा गगन थापाले ७५६ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले ४९०, प्रकाशशरण महतले ३८९, प्रदीप पौडेलले ३६९ र डा. मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत प्राप्त गरेका छन् । कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

उपभापति पदमा पार्टीका युवा नेता गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वाचित भइसकेका छन् । सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो ।

यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

ताजा खबर