बेलायतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

२०७८ पौष १ बिहीबार ०९:५३:०० मा प्रकाशित

बेलायतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । बुधबार बेलायमा ७८ हजारभन्दा धेरै अर्थात् महामारी सुरु भएयताकै सबैभन्दा उच्च कोभिड सङ्क्रमित पुष्टि भएको छ । यसअघि गत जनवरीमा एकैदिन सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो ।

इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा कयौँपटक तोडिने बताएका छन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने बताए ।

प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए । जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए । उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको देखिन्छ । लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनिसकेको छ ।

पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ रहेको छ । युरोपेली सङ्घ ईयूको स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा ओमिक्रोन कोभिड भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावी स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ । युरोपियन सेन्टर फर डिजिज प्रीभेन्सन एण्ड कन्ट्रोलले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिएको छ।

ताजा खबर